पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।

राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । बुधबार नै उनी स्वदेश फर्किएकी हुन् । उनीसहितको टोलीलाई आज नगर परिक्रमासहित स्वागत गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here