नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने, १ अर्ब अमेरिकी डलर लगानी आउँदै

काठमाडौं, १७ असोज । झापामा निर्माण हुने नेपाल चीन मैत्री औद्योगिक पार्कलाई दक्षिण एसियाकै नमूना औद्योगिक पूर्वाधारको रुपमा विकास गरिने चिनियाँ लगानीकर्ताहरुले बताएका छन् ।

सन् २०१७ बाट निर्माण प्रक्रिया थालिएको सो पार्क बिकासका लागि बिहीबार लगानी बोर्ड र पार्क व्यवस्थापनवीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा दमक क्लिन इन्डष्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ । पार्कमा कुल १ अर्ब डलर लगानी हुने छ ।

सो औद्योगिक पार्क काम, आराम, मनोरन्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङ जीले शुभारम्भ सभारोहमा बताए ।

सो औद्योगिक पार्कले झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ । ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रकृया पूरा भएको र अब निर्माण थालिने चिनियाँ लगानीकर्ताहरुले बताएका छन् ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो ।

औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए । उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने पनि बताए ।

उनले भने– ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्यो । अब दमकमै नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्न लायक विकासको मोडल तयार हुनेछ ।’

चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए । उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दशौं हजारले रोजगार पाउने बताए ।

औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजश्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने उनको भनाइ थियो ।

लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए । नेपालले व्यवसाय तथा लगानीसम्बन्धी धेरै नीति तथा कानूनहरुमा सुधार गरेकाले विदेशी लगानीका लागि नेपाल उपयुक्त गन्तब्य बन्दै गएको उनको भनाइ थियो ।

त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा पीपीपी मोडलमा जलविद्युत आयोजना बाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पीपीपी मोडलको पहिलो गैरजलविद्युत आयोजना भएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here