टिकटकमा जागिरको अवसर, नेपालमा विशेष कर्मचारी राख्ने तयारी

काठमाडौं । ९ महिना लामो प्रतिबन्ध फुकुवा भएलगत्तै टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्ने भएको छ । टिकटकले पब्लिक पोलिसी म्यानेजर (ग्लोबल पब्लिक पोलिसी) पदमा आवेदन मागेको छ ।

सरकारले राखेको नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने लगायतका शर्त मान्नसहमति जनाएलगत्तै टिकटकले नेपालका लागि कर्मचारीहरु राख्ने प्रक्रिया सुरु गरेको हो ।

टिककटको यूएईस्थित कार्यालयले गरेको विज्ञापनमा कति जना कर्मचारी मागिएको भन्ने खुलेको छैन । सेवा सुविधाबारे पनि उल्लेख छैन । पब्लिक पोलिसी म्यानेजरले नेपाल सरकारसँगको सम्बन्ध सुमधुर राख्ने र सरकारको नीतिको आधारमा तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

टिकटकमा रहेका जोखिम तथा संकट व्यवस्थापन गर्ने र सरकारसँग सहकार्य र साझेदारी गर्दै कम्पनीको र प्रयोगकर्ताको हित प्रवद्र्धन गर्ने काम यस्ता कर्मचारीले गर्नेछन् । टिकटकलाई विश्वासिलो बनाउँदै नेपालमा यसको राजनीतिक, कानुनी, नियामकीय चुनौती सामना गर्ने जिम्मेवारी पब्लिक पोलिसी म्यानेजरको हुनेछ ।

सर्जक र प्रयोगकर्ताहरुको लागि रणनीतिहरु पहिचान गर्ने, अनुगमन गर्ने, विश्लेषण गर्ने क्षमता भएका व्यक्तिको खोजी टिकटकले गरेको छ । सार्वजनिक नीति वा सरकारी सम्बन्ध र वकालत कार्यमा प्रत्यक्ष अनुभव भएका व्यक्तिलाई टिकटकले मौका दिनेछ । नियुक्त हुनेहरुलाई सरकार, नीति निर्माता र मुख्य विचारकहरुसँग सम्बन्ध बनाउने जिम्मेवारी दिइनेछ ।

जनसम्पर्क, कानुन, उत्पादन, इन्जिनियरिङ लगायतका आन्तरिक समूहहरुबीच सहकार्य गर्ने र प्राज्ञिक तथा गैरसरकारी संस्थासहित व्यावसायिक संघ संस्थासँग राम्रो सम्बन्ध कायम राख्न समेत भूमिका खेल्नुपर्ने छ । सार्वजनिक नीति, सरकारी सम्बन्ध र पैरवीमा ज्ञान भएका, न्यायिक प्रक्रिया र प्रविधि नीतिका जानकार तथा अंग्रेजी र नेपाली दुवै राम्रो लेख्न, पढ्न र बोल्न सक्ने भएकालाई यो अवसर छ ।

यो पदमा आवेदन दिन राजनीति शास्त्र, आन्तरिक मामिला, सरकार, सार्वजनिक मामिला लगायतका क्षेत्र वा सो सरहका विषयको एड्भान्स डिग्री वा सो सरहको अनुभव भएको व्यक्ति हुनुपर्नेछ । अन्तर्राष्ट्रिय प्रविधिसम्बन्धी काम गरिरहेका कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेर अनुभव हासिल गरेकलाई प्राथमिकता दिने टिकटकको विज्ञापनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here