रोकिएको नेपाल–बंगलादेश विद्युत् व्यापार सम्झौता कहिले हुन्छ ?

काठमाडौं । बङ्गलादेशमा राजनीतिक परिवर्तनपछि रोकिएको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौता अगाडी बढाउने बारे पुनः छलफल सुरु भएको छ ।

३० भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गरेको बिजुली व्यापारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उता बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले समेत त्यहाँको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग मङ्गलबार भेटेका छन् । सो भेटमा समेत यो विषयले प्राथमिकतापाएको ढाकास्थित नेपाली दुतावासले जनाएको छ ।

असारमा विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा अवसरमा सम्झौताको तयारी गरिएपनि विभिन्न कारणले तत्कालीन समयमा यसले मूतरुप लिन सकेको थिएन । यसअघि बङ्गलादेशले पहिलो चरणमा ४० मेगावाट बिजुली लैजान सहमति जनाइसकेको छ ।

पछिल्लो समय बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल गरिरहेको सन्दर्भमा अब छिट्टै सम्झौता हुने वातावरण निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बङ्गलादेश जानेछ । प्राधिकरणले चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली बङ्गलादेश निर्यात गर्ने बताउँदै आएको छ । बङ्गलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here