आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार, गुल्सनको अलराउण्ड प्रदर्शन खेर

काठमाडौं । आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले ।

दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गयो । तेस्रो बल सोमपालले डट राखे । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन आवश्यक थियो ।

पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

नेपालका ािग गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए ।

तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अव आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here