विश्व आर्थिक मञ्चमा डा. खतिवडाले भने, पर्यटनमा दक्षिण एशियाली मुलुक एक अर्काका परिपुरक

काठमाडौं, १९ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गर्दै उनले मानव तथा प्राकृति स्रोतका कारण यस क्षेत्रले उच्च आर्थिक वृद्धि हासिल गर्न सक्ने छ ।

मानव तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने डा. खतिवडाको धारणा थियो ।

दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने पनि उनले बताएको अर्थमन्त्रीका प्रेस संयोजक यमन पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरु विच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भए पनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने धारणा राखेका छन् ।

यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउंदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यवाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने धारणा व्यक्त गरे ।

गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिन सक्ने बताउंदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आह्वान पनि गरे ।

सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पर्वाधार क्षेत्रमा वित्तीय अभाव पूरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष (भीजीएफ) लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए ।

भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्यमन्त्री पियुष गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्ना भनाई राखेका थिए ।

उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिका लगायत समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ । भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराएका थिए ।

बर्जले पछिल्ला वर्षहरुमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै दुई ठूला देश चीन र भारतको बीचमा नेपाल अवस्थित भएकोले यी देशबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्ने सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here