प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने चेतावनीपछि अमेरिकामा स्थगित भयो स्वागत कार्यक्रम

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदाय आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो ।

तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

न्यूयोर्कमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ । उनीहरुले कार्यक्रममा सहभागी भएर कालो झण्डा देखाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका थिए । त्यसपछि स्थानीय सुरक्षाकर्मीहरुले भीभीआईपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गर्न सुझाव दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here