मन्त्री अधिकारीको अन्तिम संस्कार गृह जिल्लामा

क्लाउडपत्रिका
काठमाडौं, १६ फागुन
हवाई दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा अन्तिम संस्कार गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार मन्त्री अधिकारको अन्तिम संस्कार शुक्रबार गर्ने कार्यक्रम छ । यसअघि बिहीबार मन्त्री अधिकारीसहित सबै उच्च अधिकारी, पर्यटन व्यवसायी र कर्मचारीको शव टुडिखेलमा राखी श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम तय भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाजलगायत उच्च सरकारी अधिकारी पुगेर श्रद्धान्जली व्यक्त गर्ने कार्यक्रम थियो । तर, शवको पोष्टमार्टम गरी पहिचान गर्न ढिलाई भएका कारण बिहीबार निर्धारित कार्यक्रम शुक्रबारका लागि सरेका छन् ।

बुधबार ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिर दर्शन गरी काठमाडौं फिर्ता हुने क्रममा मन्त्री अधिकारीसहित ७ जनाको हेलिकोप्टर दूर्घटनामा निधन भएको थियो । दूर्घटनामा परी यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक धुर्वदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

मन्त्री अधिकारीसहित सातै जनाको शव बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत ताप्लेजुङ जिल्लास्थित सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको थियो । शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । मन्त्री अधिकारी र उनका पीएसओ घिमिरेबाहेक अन्यको शव पहिचान हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here