‘जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिने छैन’ :सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएका छन्। नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट पारे । ‘जतिसुकै ठूलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिने छैन’ उनले भने ।

साथै संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार अघि बढ्ने उनले स्पष्ट पारे । ‘सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ, यही क्रममा ६ सय जना जति अनुसन्धानको दायरामा आइ पक्राउ परेका छन्, रवि लामिछाने पनि सोही क्रममा पक्राउ परेका हुन, कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ गुरुङले भने ।

कार्यक्रममा उनले सरकार सुशासनमा दृढताका साथ अघि बढेको समेत बताए । ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानबिनको दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ गुरुङले भने। उनले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको विकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाए । मन्त्री गुरुङले सडकमा वितण्डा देखाएर सुशासनको विपक्षमा रास्वपा उभिएको हो भन्ने प्रष्ट पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here