काठमाडौं । नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न चाहने दर्शकले भौतिक रुपमा टिकट किन्न पाउने भएका छन् । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीचको खेल हेर्न अनलाइन टिकट किन्न नपाइने भएकोले बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकालीस्थित आर्मी अफिसियल केन्द्र र रंगशालाबाट टिकट बिक्री गरिनेछ। जसमा साधारणतर्फ ५ सय दरको १० हजार र भिआइपीतर्फ एक हजार दरको एक हजार गरी कुल ११ हजार टिकट बिक्री गरिने एन्फाको भनाइ छ। खेल दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे हुने छ।
यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ । एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।
आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो ।
फिफा नियमअनुसार रंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्ने हुन्छ ।