आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त हुँदै छ, निजी क्षेत्र तयार हुनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताएका छन् ।

आइतवार नेपाल उद्योग परिसंघका नेतृत्व मण्डलसंग वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीनफिगको भ्रमणको प्रसंसा गर्दै तिब्र आर्थिक विकासका लागि निजी क्षेत्रले पूर्ण सहयोग गर्नुपर्नेे बताएका हुन् ।

सो भेटमा प्रधानमन्त्रीले आर्थिक तथा औद्योगिक व्यवसायीक क्षेत्रका समस्याबारे आफु गम्भिर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाए ।

परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ दिए । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार÷बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साही भएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाँचो रहेको पनि मोरले उल्लेख गरे ।

अध्यक्ष मोरले प्रधानमन्त्रीसँग भने, ‘खासगरि कनेन्टिभिटीका ठूला पूर्वाधार तथा व्यापार विस्तारका लागि बनाउने भनिएका संयन्त्रको स्थापनामा हुदाँ आर्थिक विकासलाई ठूलो मद्दत पुग्ने भएकाले राष्ट्रपति सिको भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ ।’

एकै पटक आएका धेरै प्रकारका नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरु दवावमा पर्दा नयाँ लगानीका लागि वातावरणमा संकुचन देखिएको विषयमा अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्र बैँक लगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्रीकै मातहतमा उच्चस्तरिय समिति गठन गर्न पनि अध्यक्ष मोरले आग्रह गरे ।

प्रधानमन्त्रीसँगको भेटमा परिसंघको तर्फबाट अध्यक्ष मोर सहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराई सहभागि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here