काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरले नयाँ रेकर्ड बनाएसँगै नेरु झनै कमजोर बनेको हो ।
बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मकै उच्च हो । बिहीबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ छ । यो पनि हालसम्मकै बढी हो ।
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरिसकेका छन् । यहीकारण विश्वबजारमा अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको हो । ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रुपमा विकसित गर्ने उल्लेख गरेका थिए ।
०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण डलरको भाउ अपेक्षित रुपमा बढ्न सकेको थिएन । लगानीकर्ताले निर्वाचनको नतिजा पर्खेकाले पर्ख र हेरको अवस्थामा थिए । बुधबारसम्म अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरिसकेका छन् ।
यो नतिजापछि लगानीकर्ताको आकर्षण डलरमा बढेको बताइएको छ । आउँदा दिनमा डलरमा लगानीकर्ताको आकर्षण झनै बढ्ने अनुमानहरु गरिएका छन् ।