उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो ।

गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।

तर धेरै विद्युत् खपत गर्ने ठूला उद्योगहरुमा भने अहिलेसम्म जोडिएको छैन । भारत विद्युत् निर्यात भइरहेकाले त्यसमा असर नपर्ने गरी ठूला उद्योगहरुमा पछि लाइन जोड्ने जानकारी प्राधिकरणका कर्मचारीले दिएको एक उद्योगीले बताए ।

यसैबीच बक्यौता नउठाइ बिजुलीको लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here