विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम सुरक्षण गरिने

क्लाउडपत्रिका
काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा हुने परिवर्तनबाट हुने नोक्सानीबापतको जोखिम सुरक्षण गर्ने उद्देश्यले सरकारले हेजिङको सुविधा लागु गरेको हो । हेजिङ सम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भएसँगै लागु गर्न बाटो खुलेको हो । राष्ट्र बैंकले तयार पारेको हेजिङ नियमावली माघ तेस्रो साता मन्त्रिपरिषदले पारित गरेको थियो । खासगरी विदेशी ऋण र लगानीमा निर्माण हुने आयोजनामा लगानीको सुरक्षका लागि सरकारले हेजिङ नियमावली ल्याएको हो । यसले लगानीकर्तालाई लगानी गर्दाकै समयको सटही दरमा आफ्नो लगानी फिर्ता लैजाने सुविधा दिनेछ ।

हालकालागि जलविद्युत, विद्युत् प्रसारण लाइन, रेलमार्ग र द्रुतमार्ग निर्माणसँग ठूला आयोजनाले मात्रै हेजिङ सुविधा पाउने छन् । यस्तै, कुनै विशेष परियोजनाहरु मन्त्रिपरिषदबाट सिफारिस भएमा ती आयोजनाले पनि हेजिङ सुविधा पाउने नियमावलीमा उल्लेख छ । विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्ने भएकाले नियमावली जारी भएसँगै विदेशी लगानी बढ्ने राष्ट्र बैंकले दाबी गरेको छ । यो व्यवस्था लागु भएपछि हेजिङ सुविधा लिएका विदेशी लगानीकर्ताले विनिमय दरमा जति सुकै परिवर्तन आए पनि लगानी फिर्ता लग्दा ऋण ल्याउदाकै दर अनुसार सटही सुविधा पाउँछ्न् । यसले लगानीकर्ताको विनिमय दरको जोखिम सुरक्षित हुने राष्ट्र बैंकले जनाएको छ ।

एक पटक दिइएको हेजिङ सुविधा बढीमा १० वर्षको हुने र लगानीकर्ताले चाहेमा पुनः नवीकरण गर्न सक्ने व्यवस्था पनि नियमावलीमा छ । एक सय मेगावाटभन्दा माथिका विद्युत आयोजना, २२० केभीए वा सोभन्दा माथिका तीन किलोमिटरभन्दा लामो विद्युत् प्रसारण लाइन, १० किलोमिटरभन्दा लामो रेल, मेट्रो तथा मोनो रेलमार्ग निर्माण र ५० किलोमिटरभन्दा लामो द्रुतमार्ग निर्माणका लागि आउने विदेशी ऋणलाई हेजिङ सुविधा प्रदान गरिने व्यवस्था नियमावलीमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here