काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री राणाले शुक्रबार द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
भेटका क्रममा चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको बताइएको छ ।
परराष्ट्रमन्त्री राणा भोलि चीनबाट स्वदेश फर्कनेछिन् भने सोमबार प्रधानमन्त्री ओलीसँग पुनः त्यसतर्फ जानेछिन् । प्रधानमन्त्री ओलीले १७ मंसिरदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।