काठमाडौं । पछिल्लाे समय नेपाल घुम्न आउने पर्यटक संख्या ह्वात्तै बढेकाे छ ।
नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकले यस्ताे देखाएको हाे । बाेर्डका अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले १० लाख नाघेको याे तेस्रो पटक हो ।
२०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । जसमध्य नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।
अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन् । तर यो गत वर्ष नोभेम्बरको दाँजोमा ४.२ प्रतिशतले कम हो । त्यस्तै बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ पर्यटक नेपाल आएका छन् । यता चिनियाँ पर्यटक भने गत वर्ष नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका हुन् ।