काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।
अनुसन्धान चलिरहेका बेला भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि सीआईबीसम्म पुगेको थियो ।
यसरी धम्की दिनेले प्रसाईंलाई सहयोग गर्न भन्न गरेका थिए । सीआईबीले भारतको आसामबाट धम्की दिने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि यसमा प्रसाईं पनि जोडिएका थिए ।
फुयाँलले प्रसाईको निर्देशनमा आफूले त्यसरी फोन गरेको बताएपछि प्रसाईंविरुद्ध अहिले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको थियो ।