काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित हरियो नम्बरप्लेट भएका ट्याक्सीको सेवा अब एपमार्फत बुक गर्न सकिने भएको छ ।
यस्तो सेवा बिहीबारबाट एपमार्फत सञ्चालन गरिएको हो । यातायात मजदुरसहितका साझेदारबाट पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भएको ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ ले बिहीबार ‘नेपाल एयरपोर्ट ट्याक्सी’ एप सार्वजनिक गरेको छ ।
गौशालामा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले एप सार्वजनिक गरे । सूचना प्रविधिमा आएको परिवर्तनसँगै विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक धारणा बनाउन एपले सघाउने नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जनाए ।
एपले ट्याक्सीकै लागि लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका संस्थापक अध्यक्षसमेत रहेका स्वाँरले बताए ।
पहिलो चरणमा यो एप गुगलले विकास गरेको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टममा लागू गरिएको छ । केही दिनमै एप्पलको आईओएस अपरेटिङ सिस्टमा पनि यो एप सार्वजनिक हुने एप डेभलपर कम्पनी टुममोकका सञ्चालक एसपी सिंहको भनाइ छ ।
काठमाडौं विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सी २०८ छन् । यिनले एकतर्फी मात्रै पर्यटक ओसार्ने सेवा दिइरहेका छन् ।
अब भने एपको सहायताले सर्वसाधारण यात्रुले यही ट्याक्सीमा चढेर विमानस्थलभित्र पनि प्रवेश पाउनेछन् । एपमा ट्याक्सी कति गतिमा, कुन स्थानमा गुडिरहेको छलगायत विस्तृत विवरण देख्न पाइने लिमिटेडका अध्यक्ष पुरुषोत्तम सिंखडाले बताए ।