लुम्बिनी प्रदेशका उद्योगहरु साढे ४६ प्रतिशत मात्र क्षमता उपयोगमा चलिरहेका

काठमाडौं । नेपाल राष्ट्र बैैकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुको ४६.४१ प्रतिशत क्षमता उपयोगमा चलिरहेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष उद्योगहरुको क्षमता उपयोग करिब १० प्रतिशत विन्दुले घटेको हो । आर्थिक वर्ष ०७९÷८० मा यो प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।

समेटिएका उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ९२.४३ र सबैभन्दा कम साबुन उत्पादन गर्ने उद्योगले २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

अघिल्लो वर्षको तुलनाम गत वर्ष सबैभन्दा बढी बिजुलीको तारको उत्पादन ५५.४३ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी ह्रास साबुनको उत्पादन ८५.६४ प्रतिशतले भएको छ । साबुन उत्पादन गर्ने नमूनामा छनौट भएको साबुन उद्योगले गुणस्तरीय कच्चा पदार्थ प्राप्त गर्न नसक्दा उत्पादनमा कमी आएको प्रतिवेदमा उल्लेख छ ।

यसैगरी, अध्ययनमा समेटिएका २७ वटा उद्योगहरु मध्ये २ वटा बन्द अवस्थामा छन् । बाँकी २५ वटा उद्योगहरुबाट प्राप्त तथ्यांक अनुसार गत वर्षमा महिला ४ सय ८७ र पुरुष ४ हजार १ सय ५ गरी जम्मा ४ हजार ५ सय ९२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here