काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनकाे घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
२२ गते भएको वार्ताअनुसार हिजो (माघ २७ गते) दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएकोमा आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै उनीहरुले हिँडेपछि छलफल भाँडिएको हाे ।
उनीहरुले साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न अल्टिमेटम दिएका थिए । सरकारले उक्त माग बमोजिम वार्ता टोली गठन नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउनुपरेको उनीहरुको दाबी छ ।


















