काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले १ वर्ष १ महिना कैद सजाय र ५ करोड ८० लाख रुपैयाँ विगो तथा जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस भ्रष्टाचार आरोपमा झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो ।
एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएकाेमा प्राधिकरणका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् । यस प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका १२ जना कर्मचारीलाई भने विशेष अदालतले सफाइ दिएको छ । सफाइ पाउनेहरूमा वरिष्ठ निर्देशक आनन्दराज खनाल, निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, उपनिर्देशकहरू अच्यूतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशकहरू प्रतिक्षा पौडेल, विजयकुमार राय यादव, र निराजन कोइराला छन् ।
भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेकाे थियाे । पुस २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दावी गरेकाे हाे। यता विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार रुपैंयालाई मात्रै भ्रष्टाचार ठहर गरी त्यसै अनुसार विगो कायम गरेको हो ।