काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान-प्रदानसम्बन्धी सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको उपस्थितिमा आइतबार सम्झौता भएको हो ।
सम्झौताअनुसार तिलगंगाले उत्पादनको १० प्रतिशत लेन्स नि:शुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । जसअनुसार एक लाख उत्पादन भए १० हजार लेन्स नि:शुल्क उपलब्ध हुनेछ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि कर छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात भइरहेकोमा अहिलेको सम्झौताअनुसार तिलगंगाले ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा हालको रकममा छुट प्रदान गर्नेछ ।
तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत समन्वय र सहकार्य गने सम्झौतामा छ ।
यसैगरी, कार्यक्रम सञ्चालन भइरहेका जिल्लामा आँखा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने बताइएकाे छ।
मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पश्चात प्रयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धि करमा सहुलियतका लागि सिफारिस दिने सम्झौता गरेको छ ।
मन्त्रालयले तिलगंगाले आँखा कार्यत्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।
सम्झौता आदान-प्रदानपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डा.सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गरेको भन्दै यो गौरवको विषय भएको बताए ।
अन्तर्राष्ट्रिस्तरमा ख्याती प्राप्त डा. रुइत नेतृत्वको कामलाई राज्यका तर्फबाट मूल्यांकन गर्दै थप सहयोग पुर्याउनुपर्छ भनेर सम्झौता गरिएको उनले जानकारी दिए ।
‘संसारमै लेन्स उत्पादनमा विख्यात बनेको नाम सन्दुक रुइत र उहाँको कामलाई थप कसरी सघाउन सकिन्छ । आगामी दिनमा पनि हामी सघाउन तयार छौं’ उनले भने ।
डा. रुइतले स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य सेवा सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।