काठमाडौं, ५ कात्तिक । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा सोमवार काभ्रेको बनेपामा सम्पन्न भएको छ ।
साधारण सभाले संस्थाको आ.व २०७४/७५ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको साथै आ.व २०७६/७७ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ । यसका अलावा संस्थाको लागि उपयुक्त कानुनको व्यवस्थाको प्रभावकारी पहल गर्न केन्द्रीय कार्य समितिलाई निर्देश गरेको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्षले भने ‘नेपाल रेडक्रसको यो सभाले मानवता र सेवाको पक्षमा मात्रै रेडक्रसकर्मीहरु उभिएको सन्देश दिएको छ । हाम्रो अर्को कुनै अरु पक्ष छैन र छिटै हामी महाधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रियामा जानेछौँ ।’
आगामी आ.व. को लागि रु. ३ अर्ब ८३ करोडको बजेट पारित गरिएको छ । साधारण र विकासतर्फको बजेटमा क्रमशः १८.६३ र ८१.३७ प्रतिशत हिस्सा रहेको छ । गत वर्ष सञ्चालित गतिविधिमा केन्द्रीय कोषबाट ४ अर्ब ८ करोड ६७ लाख २१ हजार खर्च भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाकेले नेपालमा रेडक्रस कानुन बनाउन सके नेपाल भित्र रहेको वृहत रेडक्रसको सञ्जाललाई काम गर्न सहयोग पुग्ने कुरामा जोड दिए ।
अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले युवा सहभागिता, आमसञ्चार, जेन्डर, आय आर्जन लगायतका संस्थागत तथा समुदायमा आधारित गतिविधिहरुमा नेरेसोलाई सहयोग गरिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेरेसोको ७ वटै प्रदेश र ७४ जिल्ला शाखाबाट प्रतिनिधिहरू र केन्द्रीय कार्यसमिति तथा मनोनित सभाषदहरुको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानअनुसार प्रजातान्त्रिक विधिबाट संस्थाको केन्द्रीय तहको नेतृत्व चयन गर्न र वार्षिक कार्यक्रमहरु तय गर्न यस अघि धरानमा वैशाख २३–२५ गते बोलाइएको महाधिवेशन र वि.सं. २०७६ साउन २८ मा बोलाइएको वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनबाट स्थगित भएपछि सम्मानित सर्वोच्च अदालतले संस्थाको पक्षमा भाद्र २४ गते गरेको फैसला आएपछि यो वार्षिक सभा बोलाइएको थियो ।
सम्पूर्ण सहभागिको प्रतिनिधित्व गर्दै पाल्पाबाट आएका वुद्धि शर्माले साधारण सभाले आफ्नो कार्यविधि वमोजिम छलफल र पारित गर्नुपर्ने सम्पूर्ण विषयहरुलाई व्यवस्थित तरिकाले सम्पन्न गरेको समापन कार्यक्रममा बताए ।























[…] नेपाल रेडक्रसको वार्षिक साधारण सम्पन… […]