प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई भने ‘सम्भावित माग पूरा हुन्छ, वार्तामा आउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । ओलीले मागहरु पूरा गर्ने आश्वासन सहित वार्तामा बस्न भनेका हुन् ।

साथै उनले आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरे । आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् ।’

प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागप्रति नेगेटिभ नभएको भन्दै सम्भव मागहरु सबै पूरा गर्ने बताए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।

प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट फाइदा नभएको समेत बताए । ‘उनिहरुलाई कुनै लाभ छैन त्यस्तै विद्यार्थीलाई घाटा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here