अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शनिबार भेटवार्ता भएको छ।
इटालीको राजधानी रोममा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन रोम पुगेका उनीहरूले १५ मिनेट वान टु वान भेटवार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भेटपछि जेलेन्स्कीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
‘जनताका जीवन रक्षा, पूर्ण र विनाशर्त युद्धविराम र दिगो शान्तिका बारेमा कुरा भयो,’ उनले टेलिग्राममा लेखेका छन्।
त्यस्तै ह्वाइट हाउसले पनि छलफल सकारात्मक भएको बताएको छ। फेब्रुअरीको अन्तिम साता ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्तामा चर्काचर्कि परेकाे थियाे।
खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्की, ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गरेपछि तीन जनाबीच चर्काचर्की भएको थियो।
त्यसपछि खनिज सम्झौता नै भाँडिएको थियो।