काठमाडौं । सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने घोषणा गरेको छ।
भारत सरकारको निर्देशनअनुसार एक्सले ८ हजार बढी खाता ब्लक गर्ने भएको एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । ‘विज्ञप्तिमा भनिएको छ, ‘यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम छ।’
एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम चालेकाे हाे।
भारत सरकारको आदेश माने पनि एक्सले भने यसमा विमति जनाएको छ। उसले भनेकाे छ ‘सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो’। भारतमा एक्स सक्रिय राख्नु नागरिकको सूचना पहुँचको अधिकारका लागि आवश्यक’ भएकोले यस्तो कदम चालिएको एक्सले जनाएको छ ।