काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय नागरिक २७ वर्षीय अरुण पलाथिङ्गल सोमन पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका हुन्। जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त गाँजा बरामद भएको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ । यसैगरी विमानस्थलको पार्किङ एरियाबाट ४ किलो २ सय १५ ग्राम गाँजासहित अर्का भारतीय नागरिक ३५ वर्षीया सुमैया मेहबुब शिख पक्राउ परेका छन्।
थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

























