काठमाडौं । भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि छिटो भित्रीने अनुमान मौसमविदहरुले गरेका छन् ।
भारतको केरलामा २४ मे अर्थात् जेठ १० गते नै भित्रिएको छ । सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्दछ ।
भारतको मौसम विभागले २४-२६ मेसम्म भारी वर्षाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन भनेको छ ।
भारतीय मिडियाहरुका अनुसार भारतमा यसबर्ष १६ वर्षयताकै छिटो मनसुन भित्रिएको हाे । यस वर्षको मनसुनमा नेपालमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । बढी पानी पर्दा जनधनको क्षति हुने जोखिम पनि बढी हुने भएकाले पूर्वसतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ ।
हाल डढेलधुरा, अछाम आसपासका एक-दुई ठाउँहरूमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । उक्त पानी पार्ने प्रणाली उत्तर-पूर्व तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महासाखाले जनाएको छ ।



























