काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको र यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
गणतन्त्र दिवस २०८२ को अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको “पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान” शीर्षकको तस्बिर प्रदर्शनी उद्घाटन गर्दै उनले पर्यटनबाट समृद्धि हासिल हुने गरी नीतिगत तथा संरचनागत सुधारमा केन्द्रित हुने विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले नेपालको पर्वतीय पर्यटनलाई पर्यटन क्षेत्रको महत्वपूर्ण अङ्गको रूपमा उल्लेख गर्दै यसलाई समन्वित ढंगले विकास गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाल भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण मात्र नभई अद्धितीय साहसिक गन्तव्यहरूको पनि धनी मुलुक हो। यी गन्तव्यहरूको ब्राण्डिङ गरेर नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नु अपरिहार्य छ।
प्रदर्शनीमा राखिएका तस्बिरहरूले पर्यटन विकाससँगै नेपालमा केही भइरहेको छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्छ भन्ने विश्वास लिएको छु।”
उहाँले सगरमाथालगायत विश्वप्रसिद्ध हिमालहरूको ब्राण्डिङ र प्रचारप्रसारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिए। “नेपालमा अनुपम र अद्धितीय ठाउँहरू छन्। यस्ता गन्तव्यहरूको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन आकर्षण बढाउन सरोकार भएका मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य अत्यावश्यक छ,” उनले भने ।
मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि सम्बन्धित सबै मन्त्रालयबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष ध्यान दिने प्रतिबद्धता जनाए।
उहाँले राससले महत्वपूर्ण विषयवस्तुमा फोटो प्रदर्शनी आयोजना गरेर राज्यलाई सचेत गराएको भन्दै यस्तो प्रदर्शनीले पर्यटन प्रवर्द्धनका लागि ब्राण्डिङ आवश्यक रहेको सन्देश पनि दिएको उल्लेख गरे। |राससले महत्त्वपूर्ण समाचार सेवा प्रदान गर्दै आएको छ। पछिल्लो फोटो प्रदर्शनीले पनि सरोकारवाला निकायलाई जागरुक गराएको छ,’मन्त्री पाण्डेले भने।




















