काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ ।
बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।
बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर ग्रुपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न चार सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा आएको हो ।
बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ ।
थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ ।
अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ ।
एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए ।
दर्शकले मुभिजको वेबसाइट बीएसआरमुभिज डटकम (www.bsrmovies.com) तथा टेलिफोनबाट सिनेमाको सीट बुकिङ्ग गर्न सक्नेछन् । मल्टिप्लेक्सभित्र कफी शप तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् ।
अन्तर्राष्ट्यि जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।