काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । युक्रेनलाई रुसमा समाहित गर्ने उद्देश्यसहित पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका हुन् ।
रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको छ।
ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेख्दै आक्रमणको बिरोध गरेका हुन्। लेखेका छन्, ‘मैले सधैं भन्दै आएको छु कि पुटिनले युक्रेनको एउटा टुक्रा मात्र होइन, पूरै युक्रेन चाहन्छन् । तर यदि उनले यस्तो चाहना राखेमा रुसको पतन हुनेछ ।’
साथै ट्रम्पले लेखेका छन्‘पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध छ । तर अहिले उनलाई के भयाे, विनाकारण धेरै मानिसलाई मारिरहेका छन् । विनाकुनै कारण युक्रेनका शहरहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेका छन् ।’रुसले युक्रेनमाथि आक्रमण नरोके अझै धेरै प्रतिबन्ध लगाउने ट्रम्पकाे चेतावनी छ।
त्यस्तै उनले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरेका छन् ।
ट्रम्पले लेखेका छन्, ‘जेलेन्स्कीले जसरी कुरा गर्छन्, त्यसबाट उनको देशको भलाइ हुँदैन । उनको मुखबाट निस्किने हरेक कुराले समस्या पैदा गर्दछ । यसलाई रोक्नु नै राम्रो हुन्छ ।’























