अर्थमन्त्री डा. युवराज खतिवडा स्वदेश फिर्ता

काठमाडौं,६ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडा स्वदेश फिर्ता भएका छन् । संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई बुधवार स्वदेश फिर्ता भएका हुन् ।

बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल भएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गरेका थिए । वैठकमा खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here