रातो मच्छेन्द्रनाथको भोटो जात्राकाे तयारी, हेर्नुस् तस्बिरमा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाएर आज भोटो जात्रा मनाउने गरिन्छ। आज सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

आज ललितपुरको जावलाखेल चोकमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। भूतप्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुखेपछि कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे।

आफू वैद्य नभएको कुरा भन्न डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भएपछि पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्दा मनुष्यरूपी भूत आएर भोटो लग्यो।

मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरिया । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो।

प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ।