विद्युत र सिँचाइ सम्बन्धि परियाेजनामा विश्व बैंककाे ३५ अर्ब ऋण सहयाेग

काठमाडौं । विश्व बैंकले नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्‍याउने परियोजनाको मूख्य लक्ष्य रहेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे २९ मा नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको हो ।

१२० मिलियन डलर लागतको परियोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई मजबुत बनाउने, नयाँ वितरण सबस्टेशन निर्माण गर्ने, विद्यमान सञ्जालहरू स्तरोन्नति गर्ने तथा वितरण सञ्जालको वास्तविक समय निगरानी गर्न स्वचालित प्रणाली कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । यो परियोजना कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणले गर्नेछ ।

त्यस्तै १३७ मिलियन डलर अन्तरगत भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गतको आयोजनामा खर्च गर्ने लक्ष्य छ ।

यसले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभरी सिँचाइ सुविधा विस्तार गर्ने, कृषि उत्पादनमा वृद्धि ल्याउने र जलवायु सहनशीलता मजबुत बनाउने काम गर्ने विश्व बैंकको भनाइ छ।

यस परियोजनाबाट थप १७,५०० हेक्टर क्षेत्रफलमा वर्षभर सिँचाइ सुविधा पुग्ने र करिब १,६०,००० जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here