तिहारमा २५ लाख मालाको माग,सयपत्री फूल भारतबाट ल्याउनुपर्ने

काठमाडौं,७ कात्तिक । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ ।

गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ ।

बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।

यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो ।

तिहारमा मात्रै रु १५ करोड फूलको कारोवार हुने गरेको छ । “यसपटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ”, श्रेष्ठले भने , “अहिले स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले सात प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

६० प्रतिशत माला खपत

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक रु दुई अर्ब ४२ करोडको फूलको कारोवार भएको थियो ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्यगरी काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here