काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेकाे बताएका छन् ।
मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन् ।
‘केही दिन अघि दुईवटा पार्टीसँग एकता समायोजन पनि भयो उनले भने ‘विप्लव र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ ।’
क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको जानकारी उनले दिए। साथै सो अभियानले माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको पनि जिकिर गरे ।
साे अविरमा उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा पनि ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको बताए । साथै आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि अघि बढेकाे जानकारी दिए।
























