काठमाडौं । भारतको अहमदाबाद सहरमा लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७–८ ड्रिमलाइनर यात्रुवाहक विमान दुर्घटनाग्रस्तु भएको छ ।
एअर इन्डियाले सो दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको पुष्टी गरेको छ । जसमा १६९ जना भारतीय, ५३ जना ब्रिटिश , १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।
अहमदाबाद सहरका प्रहरी प्रमुखले विमान दुर्घटनास्थलबाट हालसम्म २०० वटाभन्दा बढी शवहरू निकालिसकिएको जानकारी दिएका छन्। उनका अनुसार घाइते भएका ४० जनाभन्दा बढीलाई अस्पतालहरूमा लगिएको थियो।
अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले समाचार संस्था एएनआईलाई विमानको सिट नम्बर ११ए मा रहेका एकजना यात्रु जीवित रहेको बताएका छन्।
उनले ती यात्रुको अस्पतालमा उपचार भैरहेको बताएका छन्। त्यसअघि उनले समाचार एजेन्सीहरूसँग कुरा गर्दै दुर्घटनाग्रस्त विमानमा ुकोही पनि जीवित बचेको हुन सक्ने सम्भावना नदेखिएकोु बताएका थिए।
प्रहरी कमिश्नरका अनुसार उक्त विमान विमानस्थलनजिकै डाक्टरहरू बस्ने एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो र त्यस क्रममा जमिनमा पनि मानिसहरू हताहत भएका छन्।
अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एकजना प्रवक्ताले दुर्घटनापछि विमानस्थल बन्द गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि त्यहाँका सबै उडान गतिविधिहरू स्थगित गरिएको बताएका थिए।
उक्त दुर्घटनाका बारे थप विवरणहरू आउने क्रम जारी नै रहेको छ। एआई १७१ ले स्थानीय समय अनुसार दिउँसो १३ः३९ मा उडान भरेको थियो। उक्त विमान लन्डनको ग्याटविक विमानस्थलमा १८ः२५ बीएसटीमा अवतरण हुनु पर्ने निर्धारित थियो।
तर पश्चिम भारतस्थित अहमदाबादको विमानस्थल छाड्ने वित्तिकै उक्त विमान नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। भारतको नागरिक उड्डयन नियामक निकायले उक्त विमानले एअर ट्राफिक कन्ट्रोललाई मेडे आपतकालिन सन्देश पठाएको थियो।
त्यसपछि उक्त विमानबाट कुनै प्रतिक्रिया प्राप्त भएन। बीबीसी भेरिफाइका जोश चितमको विवरण अनुसार उक्त विमान दुर्घटना हुँदा त्यस मौसमी अवस्था सफा र स्थिर रहेको उडान सुरक्षा विज्ञ मार्को चानले बताएका छन्।
सतहमा हावाको वेग हल्का गरेको र भिजिबिलिटि पनि ६ किलोमिटर रहेको मेटार भनिने उडान मौसम भविष्यवाणीकर्ताले जनाएको छ।
























