काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।
छलफलमा पूर्वकानुनमन्त्री गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए ।
‘समितिले छलफल गरेर कुलिङ अफ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्ताक्षर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो उनले भने याे नेपालको इतिहासमा लज्जास्पद र घिनलाग्दो अवस्था हो’ । गिरिले जनप्रतिनिधिले याे हदसम्मकाे काम भन्ने कल्पना गर्न नसकिने अवस्था रहेकाे बताए ।
‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । अब सचिवले पनि यो पदमा बसिरहन मिल्दैन,’ उनले भने ।