काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
सोमबार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे । साथै, उनले पानीजन्य रोगहरुबाट बच्न आग्रह गरेका छन् ।
‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । सबै दाजुभाइ, दिदिबहिनीहरू सतर्क भएर बस्नुस्,’ शाहले भने ।
पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने समेत बताए ।
‘हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामीभित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ,’ उनले भनेका छन् ।






















