काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे गलत प्रचार भइरहेको बताएको छ ।
स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति मार्फत बताएको हाे।
मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम बाहना बनाएर गएकाहरू नफर्किएको बताएकी थिइन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभई विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको समेत आरोप लगाएकि थिइन्।
संसद्मा यस विषयमा कुरा उठेपछि भ्रामक र आधारहीन यस्ता सामग्रीमा विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको छ ।
साथै ३० जुनदेखि ४ जुलाईसम्म सम्पन्न उक्त सम्मेलनमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सबै सदस्यहरू स्वदेश फर्किसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
























