काठमाडौं । एयर इन्डिया जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।
१२ जुनमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियाे। दुर्घटनामा विमानमा रहेका २४२ जना र आवासीय क्षेत्रका सर्वसाधारणसमेत गरी २७० भन्दा बढीको मृत्यु भएको थियो।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले विमान ३२ सेकेन्डमै दुर्घटना भएको खुलाएको छ।
प्रारम्भिक अनुसन्धानले जेटका दुई इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द भएकोले भुइँ छोडेको केही समयपछि नै ‘थ्रस्ट’ गुमेर उड्न नसकेको देखिएको अधिकारीहरूले बताएका छन्।
सामान्यतया उडानका बेला यी स्विचहरू अन हुनुपर्ने हन्छ। इन्धन आपूर्ति रोकिएपछि टेकअफ लगत्तै एक सेकेन्डको अन्तरमा जहाजका दुवै इन्जिन बन्द भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै ब्ल्याक बक्सबाट ककपिटमा पाइलटहरूबीच भएको कुराकानी पनि सार्वजनिक भएको छ। इन्जिन बन्द भएपछि ककपिट एक जना पाइलटले अर्कालाई इन्जिन तपाईंले बन्द गर्नुभएको? भनेर प्रश्न गरेका थिए। र अर्का पाइलटले ‘होइन’ भनेर जबाफ दिएका थिए। पाइलटहरूले इन्जिनहरू पुन सुरू गर्ने प्रयत्न गरेका थिए। इन्जिन वान (एन-१) केही हदसम्म पुन सुरू भएपनि दुर्घटना हुनुभन्दा अगाडि दोस्रो इन्जिन (एन-२) स्टार्ट हुन नसकेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
जहाज दिउँसो १:३९ बजे उडेकोमा विमानस्थलबाट १९० मिटर (६२५ फिट) को उचाइमा पुगेपछि जहाजसँग अन्तिम सम्पर्क भएको भनिएको छ। उडान भर्नेबित्तिकै पाइलटले एयर ट्राफिक कन्ट्रोलमा आपतकालीन सन्देश पठाएका थिए। तर त्यसको लगत्तै कुनै जबाफ नआएको अनुसन्धान प्रतिवेदनबाट खुलेको छ।





















