काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयकाे असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति दिएकाे हो ।
नेपाल धितोपत्र बोर्डले २०८२ असार २२ गते पठाएको पत्रका आधारमा मन्त्रालयले स्वीकृति दिएको हो । मन्त्रालयले बोर्डलाई पठाएको पत्रमा ‘छैठौं संशोधन नियमावली’ स्वीकृत गरिएको उल्लेख गर्दै बोर्डलाई उक्त संशोधन कार्यान्वयनका लागि अनुरोध गरिएको थियाे ।
यसअघि मन्त्रालयले असार १६ गते पत्र लेख्दै पुनः संशोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । जसमा ब्रोकरको चुक्ता पुँजी वृद्धि गर्नको लागि समयसीमा २०८३ साल चैत मसान्तसम्म थप गरिएको छ । यसअघि चालु आर्थिक वर्ष २०८१/८२ भित्र पुँजी पुर्याउन भनिएको थियो ।
त्यस्तै सबै ब्रोकरहरुले सेयर धितो कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । यसअघि २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका ब्रोकरलाई मात्र रोकिएको थियो ।
१ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका ब्रोकरहरुले आइपीओ ल्याउन पाउने व्यवस्था समेत गरिएको छ । संशोधित नियमावली अब धितोपत्र बोर्डको बैठकबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

























