काठमाडौं । आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती,जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण गरेकाे छ ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तर अर्थात् नेपालतर्फ रहेकाले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षा हुने प्रक्षेपण गरिएको हो ।
बुधबार देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा एवं हिमपातको समेत सम्भावना औंल्याइएको छ ।
आज राति भने मधेश प्रदेशमा समेत वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकाे सम्भावना छ।
कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको चल्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।
बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। त्यस्तै शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने सम्भावना पनि छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने छ ।
त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण र सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।





















