राजस्व संकलन १ खर्ब २० अर्बले बढ्यो, गत वर्षको प्राप्ति ११ खर्ब ७८ अर्ब

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०८१/८२ मा रु. ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ को भन्दा यो रु. १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/८१ मा रु. १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा रु. १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा यो लक्ष्यमा संशोधन गरी रु. १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए ।
चालु आर्थिक वर्षका लागि तयारी सुरु गरिसकेको र यो वर्ष राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने उनको भनाइ छ ।

चालू आर्थिक वर्षमा रु. १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ ।

आर्थिक वर्ष २०७१/७२ मा रु. ४ खर्ब ५ अर्ब, २०७२/७३ मा रु. ४ खर्ब ८१ अर्ब, २०७३/७४ मा रु. ६ खर्ब ९ अर्ब, २०७४/७५ मा रु. ७ खर्ब २६ अर्ब, २०७५/७६ मा रु. ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।

त्यसैगरी २०७६/७७ मा रु. ७ खर्ब ९३ अर्ब, २०७७/७८ मा रु. ९ खर्ब ३५ अर्ब, २०७८/७९ मा रु. १० खर्ब ६६ अर्ब, २०७९/८० मा रु. ९ खर्ब ५७ अर्ब र २०८०/८१ मा रु. १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here