काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएपछि ४जनाकाे ज्यान गएकाे छ।
हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो।
एनसीपीको र्यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए ।
प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाउनुका साथै तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।
हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), सोहेल मोल्ला (४१ वर्ष) रहेका छन् । यता क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका २०० जना सैनिक तैनाथ गरिएकाे बताइएकाे छ ।

























