काठमाडौं । राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा परेका संशोधनको एकीकृत विवरण सार्वजनिक गरेको छ । विवरणमा १६ समूहमा ४३ जना संसदले संशोधन प्रस्ताव गरेको उल्लेख छ ।
नेकपा एमालेले निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये कुलिङ अफ पिरियडको विषयमा प्रतिनिधि सभामा भएको सहमति भन्दा फरक मत राखेको छ ।
एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेका छन् ।
यता प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ अफ पिरियडको समय २ वर्ष नै उचित रहेको भनेर संशोधन राखेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव राखेको छ ।






















