काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे। समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जान बाध्य भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । गत २० चैतदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने उनकाे भनाइ छ।
बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थाका बारेमा समिक्षा गरिएको उनले बताए ।
समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुनेगरी र विद्यालय शिक्षाका समस्या समाधान गर्नेगरी विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको छ।
समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघको बैठक आज बसेको थियो ।
महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरिरहेको समयमा यता प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।
समिति बैठकबाट नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने प्रस्ताव पारित भएको छ भने शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ ।
आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो ।
























