‘उत्तराखण्डमा नेपाली नागरिकको खोजीका लागि कूटनीतिक पहल सुरु भइसकेकाे छ’: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् ।

बाढीमा केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताइन् । साथै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको जानकारी दिइन् ।

हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकाे मन्त्री राणाले बताइन्न । बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको घडीमा रहेका परिवारजनमा समवेदना पनि व्यक्त गरेकी छन् ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोमा हालसम्म कम्तिमा २२ नेपाली सम्पर्क विहीन भएको विवरण छ । जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्क विहीन भएको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here