६ भदौ काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् ।
साे अवसरमा सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए ।
समितिले बिहीवारको बैठकबाट विधेयक पास गरेको थियो ।
सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् ।
माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रश्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ ।
त्यस्तै रास्वपाले पूर्ण छात्रवृति आवाससहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत र राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको राखेको छ ।























