काठमाडौं । ट्रेजरी बिलमार्फत सरकारले सोमबार ५ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै २८ दिने ट्रेजरी बिलमार्फत उल्लिखित रकम उठाउन लागेको जनाएको हो ।
कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार (भदौ ९ गते) दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।
पछिल्लो पटकको बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४९ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।





















